काठमाडौँ : खोटाङको कोपिलासगढी गाउँपालिका-२ बालावेसीमा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटना भएको छ। कल साइन नम्बर ‘९-एनएफक्यू’ भएको हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भएर कान्लामा ठोक्किन गएपछि दुर्घटनाग्रस्त भएको हो।
चालकले भिरालो ठाउँको गरामा अवतरण गर्ने प्रयास गरेका थिए। आकाशबाट सन्तुलित रुपमा भुइँमा आइपुगेपछि असन्तुलित भएर हेलिकोप्टरको टाउको माटोमा जोतिएको थियो।
हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रहरीका अनुसार दुर्घटनामा परी काजीबहादुर राई घाइतेका छन्।
दुर्घटना हुन खोजेपछि पछि चालकले सन्तुलनमा ल्याएर अवतरण गर्ने प्रयास गरेका थिए। सो क्रममा फेरि हेलिकोप्टर गराको माथिल्लो भागमा पुगेको थियो। त्यही बेला सन्तुलनमा ल्याउन कोसिस गर्दागर्दै हेलिकोप्टर घुमेर अगाडिको कान्लामा ठोक्किन पुगेको थियो। ठोक्किएर हेलिकोप्टर उत्तानो परेर लड्यो। दुर्घटना भएको नजिक घरहरु छन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश बुढाथोकीकाका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउन एयर डाइनेस्टीकै अर्को हेलिकोप्टर घटनास्थल पुगेको छ।
प्रतिक्रिया