logo
  • २२ मंसिर २०८२, सोमबार | Mon, 08 Dec 2025
  • Dark Mode

          Subscribe

    हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

    हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

    बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ ।

    विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गर्नुभएको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाउनुभएको हो । यसै मुद्दामा सिद्दिककी आमा शेख रेहानालाई सात वर्षको जेल सजाय सुनाइएको छ र अदालतले उहाँलाई परियोजनामा प्रमुख संलग्न व्यक्तिका रूपमा उल्लेख गरेको छ ।

    यस प्रकरणमा अन्य १४ जना पनि संलग्न रहेको बताइएको छ । बेलायतको संसद्मा लन्डनका ह्याम्पस्टेड तथा हाईगेट क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकले यी सबै आरोपहरू यसअघि नै अस्वीकार गर्दै यसलाई बनावटी आरोपमा आधारित राजनीतिक प्रतिशोध बताउँदै आउनुभएको थियो ।

    ठूलीआमासँगको सम्बन्धकै कारण ठूलो राजनीतिक दबाब परेपछि उहाँले जनवरीमा मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । पूर्व प्रधानमन्त्री हसिनालाई गत वर्ष जनविद्रोह दमनका क्रममा संलग्न मानवता विरुद्धका अपराधका लागि नोभेम्बरमा मृत्युदण्ड सुनाइएको छ र उहाँ भारतमा निर्वासनमा बसिरहनुभएको छ ।

    उहाँमाथिका सबै मुद्दा अनुपस्थितमै चलाइएका हुन् । सोमबारको फैसलामा हसिना, रेहाना र अन्य अभियुक्तहरूले आफूहरूको प्रतिनिधित्वका लागि कुनै प्रतिरक्षा वकिल खटाउनुभएको थिएन ।

    रेहानासमेत विदेशमै बसिरहनुभएको छ भने सिद्दिकका दुई दाजुभाइ र बहिनी पनि गत वर्षको विद्रोहसम्बन्धी अन्य आरोपका कारण विदेशमै छन् । त्यसैगरी, सोही टाउनसिप परियोजनासँग सम्बन्धित तीनवटा छुट्टै मुद्दामा ढाकाकै अर्को अदालतले नोभेम्बर २७ मा हसिनालाई २१ वर्षको जेल सजाय सुनाइसकेको छ ।

    उक्त फैसलामा उहाँका छोरा र छोरीलाई समेत पाँच–पाँच वर्षको जेल सजाय तोकिएको छ ।



    sancharchautari sancharchautari    
  • १५ मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP