काठमाडौं, साउन १० : सहकारीमा बचत गरेको रकम फिर्ता नपाएर चार वर्षदेखि आन्दोलनरत बचतकर्ताले पुनः दुईदिने वृहत आन्दोलनको घोषणा गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले साउन ११ र १२ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको जनाएको छ।
महासंघका अनुसार सहकारी बचत फिर्ताको विषयमा विगतका सरकारले प्रभावकारी पहल नगरेको र वर्तमान सरकारले पनि समस्या समाधानमा अपेक्षित तत्परता नदेखाएको आरोप लगाइएको छ। बचतकर्ताहरूले सरकारले साना र ठूला बचतकर्ताबीच विभेदपूर्ण नीति अवलम्बन गरेको तथा सबै पीडित बचतकर्तालाई समान रूपमा राहत दिने ठोस आधार तयार गर्न नसकेको बताएका छन्।
महासंघले सहकारीमा जीवनभरको कमाइ बचत गरेका हजारौं नागरिक अझै आफ्नो रकम फिर्ताको प्रतीक्षामा रहेको उल्लेख गर्दै बचतकर्ताको अधिकार सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्ने माग गरेको छ। उनीहरूले आंशिक वा वर्गीकरणका आधारमा होइन, सबै बचतकर्तालाई समान रूपमा न्याय दिलाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
घोषित कार्यक्रमअनुसार साउन ११ र १२ गते बिहान ११ बजेदेखि काठमाडौंको माईतीघर मण्डलाबाट विरोध प्रदर्शन सुरु हुनेछ। प्रदर्शन माईतीघरबाट समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय, बुद्धनगर हुँदै सहकारी प्राधिकरणसम्म पुग्ने आयोजकले जनाएको छ।
महासंघले आन्दोलनमा देशभरका सहकारी पीडित बचतकर्ता, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवालालाई सहभागी भई बचतकर्ताको न्यायका पक्षमा ऐक्यबद्धता जनाउन अपिल गरेको छ।
सहकारी क्षेत्रको संकटका कारण लामो समयदेखि हजारौं बचतकर्ता आर्थिक तथा सामाजिक समस्यामा परिरहेका छन्। आन्दोलनरत बचतकर्ताले सरकारले अब पनि प्रभावकारी कदम नचाले थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएका छन्।
प्रतिक्रिया