logo
  • २९ श्रावण २०८३, शुक्रबार | Fri, 14 Aug 2026
  • Dark Mode

          Subscribe

    टोखा,सामाखुसी र झोर सडकलाई ‘सांस्कृतिक पथ’का रूपमा संरक्षण गर्न माग

    टोखा,सामाखुसी र झोर सडकलाई ‘सांस्कृतिक पथ’का रूपमा संरक्षण गर्न माग

    काठमाडौं । टोखा, सामाखुशी र झोर सडकको ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै यसको मूल चरित्रलाई ‘सांस्कृतिक पथ’का रूपमा विकास गर्नुपर्ने मागसहित हिजो सिंहदरबारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

    स्थानीय तथा सरोकारवालाको पहलमा सडकको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वलाई बेवास्ता नगरी पूर्वाधार विकास अघि बढाउनुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएको हो। उनीहरूले यो मार्गलाई केवल यातायात सञ्चालन हुने सडकका रूपमा मात्र नहेरी काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदा र ऐतिहासिक बस्तीहरू जोड्ने महत्वपूर्ण मार्गका रूपमा संरक्षण तथा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

    ध्यानाकर्षण पत्रमार्फत परराष्ट्र मन्त्रालयका माननीय मन्त्री शिशिर खनाल, पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्साल तथा खेलकुद तथा शिक्षा मन्त्रालयका माननीय मन्त्री सस्मित पोखरेल लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको जनाइएको छ।

    त्यस्तै, खेलकुद, स्वास्थ्य, शिक्षा एवं सूचना संसदीय समितिका सभापति माननीय डा. ओजस्वी शेरचनको पहलमा समेत उक्त विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याइएको बताइएको छ।

    सरोकारवालाले सामाखुसी, टोखा र झोर सडक आसपासका ऐतिहासिक बस्ती, सांस्कृतिक सम्पदा, परम्परागत संरचना तथा स्थानीय जीवनशैलीको संरक्षण गर्दै सडक विस्तार तथा स्तरोन्नति गर्नुपर्ने बताएका छन्। विकासका नाममा मौलिक पहिचान र सांस्कृतिक सम्पदा नष्ट हुन नहुने उनीहरूको धारणा छ।

    समीर शाहीका अनुसार सामाखुसी, टोखा र झोर मार्ग एउटा सामान्य सडक मात्र नभई ऐतिहासिक तथा सांस्कृतिक सम्पदासँग जोडिएको मार्ग भएकाले यसको विकास ‘सांस्कृतिक पथ’को अवधारणाअनुसार गरिनुपर्छ। यसले सडक पूर्वाधारसँगै पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    सडक विकास गर्दा स्थानीय सरोकारवालासँग पर्याप्त छलफल, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अध्ययन र संरक्षणका उपाय सुनिश्चित गर्नसमेत उनीहरूले सरकारसँग आग्रह गरेका छन्।



    sancharchautari sancharchautari    
  • २९ श्रावण २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP