काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने राति १: ४१ बजे ग्रहण सकिने समितिले जनाएको छ ।
काठमाडौँबाट करिब साढे तीन घण्टा चन्द्रग्रहण देखिने छ । २०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ ।
यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ ।
वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने प्रस्टाइएको छ। बरु खगोलप्रेमी र विद्यार्थीका लागि यो अवलोकन, अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर बन्नेछ।
फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ।
ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।
प्रतिक्रिया