२०८१ बैशाख १४
April 26, 2024, Friday

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुनसक्छ : सीपी गजुरेल (अन्तरवार्ता )

माओवादी धारका आठ दलले सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो लगाउने विषयमा समझदारी गर्दै मंगलबार हस्ताक्षर गरे । सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो लगाउने विषयमा षड्यन्त्र भए प्रतिवाद गर्नेमा उनीहरू एकमत भए ।

विभाजित भएपछि आफूहरू कमजोर भएको र राजनीतिक परिवर्तनका उपलब्धिहरूमाथि खतरा उत्पन्न भएकोबारे उनीहरूले गम्भीर समीक्षासमेत गरेका छन् ।

आठ माओवादी धारको बालुवाटारमा भएको छलफल, पार्टी एकताको सम्भावना र सङ्क्रमणकालीन न्यायका विषयमा केन्द्रित रहेर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी (चन्द्रप्रकाश) गजुरेलसँग रातेपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंशः

आठ माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा बस्यो । कुन कुन विषयमा छलफल गर्नुभयो ?

उहाँहरू (प्रचण्ड) ले विभाजित हुँदा माओवादी आन्दोलन कमजोर भयो, हाम्रा कमीकमजोरी के के हुन्, सबैका कमीकमजोरी भएरै यो अवस्था आएको हो भन्ने कुरा गर्नुभयो । मेरो तर्फबाट कमजोरी भएको हो भने कन्भिन्स गराउनुहोस्, म सच्याउन तयार छु र अरूबाट कमजोरी भएको छ भने पनि सच्याउन लागौँ भन्ने कुरा आयो ।

सकिन्छ भने पार्टी एकता गरेर जाऊँ, माओवादी आन्दोलनलाई बलियो बनाऊँ, यदि सकिँदैन भने संयुक्त मोर्चा बनाएर जाऊँ भन्ने कुरा पनि उताबाट आयो ।

त्यसपछि हामीले पार्टी एकता गर्न महत्त्वपूर्ण समीक्षा हुनुपर्छ, अहिले पार्टी एकता गर्न तपाई र हाम्रोबिच केही मिल्दै मिल्दैन, तपाईंहरु सत्तापक्ष हुनुभयो र हामी विरोधी पक्ष वा यो व्यवस्था नमान्ने पक्षका भयौँ भन्ने कुरा राख्यौँ । हामी एमसीसी राष्ट्रघाती भन्ने भयौँ, तपाईंहरु त्यसैलाई पास गरेर जाने हुनुभयो । यस्ता धेरै विषयमा असहमति छन् । त्यसैले तत्काल पार्टी एकता गर्न सक्ने अवस्था छैन भन्ने कुरा राख्यौँ ।

यस्तै, अर्को विषय सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्छ भन्ने रहेछ । सर्वोच्च अदालतले जनयुद्धकालीन मुद्दा दर्ता गरेर हेर्ने विषयमा एक भएर प्रतिवाद गर्ने समझदारी भयो । जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न थाल्यो भने शान्ति प्रक्रिया भङ्ग हुन्छ । सर्वोच्च अदालतले जनयुद्धकालीन मुद्दालाई जसरी चलाउन खोजेको छ, त्यो विल्कुल गलत छ । सङ्क्रमणकालीन न्याय सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत किनारा लगाउनुपर्छ । त्यो शान्ति प्रक्रियाको स्प्रिट हो । शान्ति प्रक्रिया टुङ्गो लगाउनुपर्छ भन्नेमा सबै सहमत छौँ । यस विषयमा मिलेर जान सकिन्छ भन्ने छ ।

माओवादी धारहरुबीच एकता नभए पनि कार्यगत एकता गरेर जान सक्ने अवस्था छ कि छैन ?

अहिले माओवादी धार एकता गरेर जाने अवस्था छैन । तत्काल कार्यगत एकता गरेर जाने स्तरसम्म हुन्छ । हाम्रो निष्कर्ष त्यही भयो । कार्यगत एकता भनेको निश्चित एजेण्डामा हुन्छ । तत्काल सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुन सक्छ । पार्टी एकता तत्काल सम्भव छैन ।

कार्यगत एकता गर्दै जाँदा परिस्थिति परिवर्तन हुन सक्छ । परिस्थितिले हामीलाई बाध्य बनाउला वा के गर्ला ! त्यो अवस्था बेग्लै कुरा हो । नभए तत्काल पार्टी एकता हुने अवस्था छैन । कार्यगत एकता हुन सक्छ ।

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा के के सुझाव दिनुभयो ?

हामीले न्याय नदिने भनेका छैनौं । न्याय दिनुपर्छ । सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाको अभिन्न अङ्ग र महत्त्वपूर्ण पक्ष समेत हो । सङ्क्रमणकालीन न्याय सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउनुपर्छ । अर्को भनेको मेलमिलापबाट हुन्छ । फौजदारी कानुन प्रयोग गर्ने भन्ने होइन ।

अहिले नियमित अदालतले हेर्नु भनेको शान्ति प्रक्रियाको विपरीत हुन्छ । त्यसमा हामी सबैको एउटै बुझाई भयो ।

के अब सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन माओवादी धार एक भएकै हो ?

हो, सङ्क्रमणकालीन न्याय तत्काल टुङ्ग्याइनुपर्छ । त्यो टुङ्गो लगाउन एक जुट हुनेछौँ । सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन दबाबमूलक कार्यक्रम गर्ने सोचिएको छ । आजै त्यस विषयमा कुनै निर्णय भएन । अर्को दिन फेरि बसेर दबाबमूलक कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएका छौँ । सरकारलाई सङ्क्रमणकालीन न्याय दिन पहल लिनुपर्छ भनेर दबाब दिइने छ । सरकारमा बसेकाले तत्काल सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन पहल गर्नुपर्छ । सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलेर सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउनुपर्छ भन्ने छ ।

रातोपाटीबाट

Related News

‘सहकारी क्षेत्रमा सुशासनसहितको शुद्धीकरणलाई प्राथमिकता दिएर अगाडि बढ्छौं’
‘सहकारी क्षेत्रमा सुशासनसहितको शुद्धीकरणलाई प्राथमिकता दिएर अगाडि बढ्छौं’
  • २०७९ फाल्गुन २३, मंगलवार १५:२७ गते

बचत तथा ऋण सहकारी संस्थाहरूको राष्ट्रिय महासंघ अर्थात् नेफ्स्कुन (नेसनल फेडरेसन अफ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ्स अफ नेपाल) को पुस...

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठग्ने घटना बढे
  • २०७९ फाल्गुन २३, मंगलवार १५:२७ गते

पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको संख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ...

रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
रामचन्द्र दाइले अघि बढाएका योजना डोर्‍याउन उत्तराधिकारीको रूपमा म आएको छु : गोविन्द भट्टराई
  • २०७९ फाल्गुन २३, मंगलवार १५:२७ गते

आगामी १० वैशाखमा हुने तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारका...

TOP