logo
  • १७ जेष्ठ २०८३, आईतवार | Sun, 31 May 2026
  • Dark Mode

          Subscribe

    तोलामै २० हजार बढायो सुन

    तोलामै २० हजार बढायो सुन

    काठमाडौं,१७ जेठ : सरकारले शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ ।

    बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

    ‘बजेटमा घोषित भन्सार दर भोलिपल्टबाटै लागु हुन्छ, सोअनुसार महासंघले मूल्य समायोजन गरेको हो’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य मात्रै बढे पनि भन्सार शुल्ककै कारण आज सुनको मूल्य २० हजार बढेको उनले बताए ।

    २० हजार ५ सय रुपैयाँ प्रतितोला मूल्य बढेसँगै आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार घोषणा गरेको बजेटमार्फत सुनमा २ प्रतिशत विलासी कर हटाएर राहत दिएजस्तो गराई भन्सार दर दोब्बर बनाएका थिए । साथै बजेटले उपभोक्तालाई ०.५० प्रतिशत सिप प्रवर्द्धन शुल्क लगाएको छ ।

    सुनको मूल्यलाई अन्तर्राष्ट्रिय मूल्य, अमेरिकी डलरको मूल्य तथा नेपालमा लाग्ने भन्सार लगायत अन्य करले प्रभाव पार्दछ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ जम्मा ०.८४ प्रतिशत मात्रै बढेको थियो ।

    सुन मात्रै नभई चाँदीमा पनि भन्सार दर १० प्रतिशत विन्दुले बढाएर २० प्रतिशत पुर्‍याइएको छ ।

    यसको प्रभावले चाँदी पनि उच्च दरले महँगिएको छ । आइतबार चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँ रहेको चाँदी आज ५ हजार ३४५ रुपैयाँ पुगेको छ ।



    sancharchautari sancharchautari    
  • १७ जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP