काठमाडौं १७ जेठ : अर्घाखाँचीको पाणिनी गाउँपालिका खिदिमकी सरस्वती दर्लामी मेला गएको बेला बाँदरको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।
एक्लै मेला गएकी ३६ वर्षीय दर्लामीलाई बाँदरले सबै कपडा च्यातेर आक्रमण गरी बेहोस बनाएपछि छिमेकीहरूले उद्धार गरेका थिए । उनको शरिरभरी घाउ छन् । गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी गौतमले मेलामा गइरहेकी सरस्वतीलाई बाँदरले गम्भीर घाइते बनाएको, निर्वस्त्र अवस्थामा उनलाई छिमेकीले उद्धार गरी घरमा पुर्याएको गौतमले बताइन् ।
‘बाटोमा हिँडेको बेला बाँदरले आक्रमण गरेको रहेछ, अहिले गाउँमा एक्लै हिँड्न सक्ने अवस्था छैन, महिलालाई त झन् बढी सताएको छ’, उनले भनिन्, ‘पहिले नै पालिकाले बन्दूक पड्काउने, जाली लगाउने, भोटेकुकुर पाल्न लगाउने काम थालेको थियो, तर रोकिएन, कानुन नै फेरेर मार्नलाई बन्दूक दिइनुपर्छ । मान्छेको संख्या कम भएको छ, बाँदर बढिरहेका छन् । यसले गाउँमा बस्न सक्ने वातावरण नै छैन ।’
प्रतिक्रिया