dddd
काठमाडौंको नयाँ बानेश्वरस्थित IACER परिसरमा अन्तर–विधागत छैटौँ वसाइ अन्तर्गत एक विशेष साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ। साहित्यकार तथा पत्रकार हिक्मत डंगोलद्वारा लिखित सामाजिक उपन्यास ‘बदलिएको आकाश’ को विमोचन तथा कृतिमाथिको अन्तरक्रिया कार्यक्रम आगामी २०८३ असार १३ गते दिउँसो ३ बजे आयोजना गरिने भएको हो।
अमेरिकामा रहँदाका क्रममा लेखक तथा पत्रकार हिक्मत डंगोलले देखेका, भोगेका र अनुभूत गरेका अनेक जीवन–कथा तथा व्यथाहरूलाई उपन्यासको कलेवरमा उतारेका छन्। वर्तमान नेपाली समाजका युवाहरू रोजगारी र उज्ज्वल भविष्यको खोजीमा विवाह गरेर विदेश पलायन हुने क्रम बढ्दो छ। तर त्यससँगै धेरै परिवारहरूमा पति वा पत्नीको दूरी, सम्बन्धमा आएको विचलन र पारिवारिक विखण्डनका पीडादायी यथार्थहरू पनि देखा परिरहेका छन्। यिनै सामाजिक यथार्थहरूको जीवन्त चित्रण गर्दै ‘बदलिएको आकाश’ समकालीन नेपाली समाजको पारदर्शी ऐनाका रूपमा प्रस्तुत भएको छ।
यही उपन्यासलाई अन्तर–विधाको आगामी वसाइमा औपचारिक रूपमा विमोचन गरिनेछ भने त्यसलगत्तै कृतिमाथि छोटो विमर्शसमेत आयोजना गरिनेछ। उपन्यासले उठाएका विचार, अनुभूति तथा समयसापेक्ष सन्दर्भहरूमाथि केन्द्रित उक्त अन्तरक्रियामा साहित्यकार अन्जु मैनाली र नेपाल समाचारपत्रका पूर्व सम्पादक कपिल काफ्लेले कृतिका विविध पक्षबारे आफ्ना धारणा प्रस्तुत गर्नेछन्।
साहित्य, विचार र संवादलाई एकै थलोमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमले लेखक, पाठक तथा साहित्यप्रेमीबीच अर्थपूर्ण छलफल र अन्तरसंवादको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
अन्तर–विधाका साथीहरूका तर्फबाट लेखक हिक्मत डंगोलसँगै अन्जु मैनाली, राम भुषाल, रिमा केसी, लक्ष्मी रुम्बा तथा गणेश खनिया लगायतका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ। साथै विभिन्न क्षेत्रका अन्य विशिष्ट व्यक्तित्व तथा साहित्यप्रेमीहरूको समेत उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ।
कार्यक्रमका अवसरमा नेपाली आधुनिक चित्रकलामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका प्रख्यात कलाकार चन्द्रा श्रेष्ठ, साहित्यकार ओमशंकर श्रेष्ठ तथा समाजसेवी महेन्द्र शाक्यलाई विशेष सम्मान प्रदान गरिनेछ।
साहित्यिक सिर्जना, विमर्श र सम्मानलाई एकै मञ्चमा समेट्ने यस कार्यक्रमलाई नयाँ बानेश्वरको एक महत्त्वपूर्ण साहित्यिक जमघटका रूपमा हेरिएको छ। आयोजकले सम्पूर्ण साहित्यप्रेमी, बुद्धिजीवी, कलाकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई यसको गरिमा अभिवृद्धि गरिदिन हार्दिक अनुरोध गरेका छन्।
प्रतिक्रिया