logo
  • २९ बैशाख २०८३, मंगलवार | Tue, 12 May 2026
  • Dark Mode

          Subscribe

    अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेका छन् । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो ।

    ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

    २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थापाले १ हजार १२३ मत प्राप्त गर्दै एमालेका रुद्रप्रसाद पोखरेललाई ३८७ मतान्तरले पराजित गरेका थिए ।

    निर्वाचित भएपछि करिब १५ महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थापा २०८० भदौ १५ गते स्वास्थ्य उपचार गर्न भन्दै सम्पर्कविहीन बनेका थिए । पछि उनी अमेरिका पुगेको खुलेको थियो ।

    स्थानीय स्रोतका अनुसार थापाले केही व्यक्तिलाई पैदल मार्ग हुँदै अमेरिका पुर्‍याएको र केहीसँग रकम लिएर अलपत्र पारेको आरोप लाग्दै आएको थियो । करिब साढे दुई वर्षपछि उनी नेपाल फर्किएका थिए ।

    थापा विदेशमा रहेका बेला पनि पुतलीबजार नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको सेवा–सुविधाबापत २ लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको थियो । त्यसपछि भने २०८१ साउनदेखि उनको सेवा–सुविधा रोकिएको नगरपालिकाले जनाएको छ ।

    नेपाल फर्किएपछि पुन: वडा कार्यालयमा सक्रिय देखिएका थापा अहिले भने मानव बेचबिखनसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् ।

    प्रहरीले भने मुद्दासम्बन्धी थप तथ्य संकलन तथा अनुसन्धान जारी रहेको जनाएको छ ।



    sancharchautari sancharchautari    
  • २९ बैशाख २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP