जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी कर्मचारीको बिदा सम्बन्धी दीर्घकालीन गुनासो सम्बोधन गर्ने उद्देश्यले प्रहरी नियमावली, २०७१ मा व्यवस्था भएअनुसार “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ ।
सार्वजनिक बिदाको दिन ड्युटी गर्ने प्रहरी कर्मचारीलाई कानूनी व्यवस्थाअनुसार सट्टा तलबी बिदा उपलब्ध गराउन सुरु गरिएको हो । प्रहरी संगठनभित्र लामो समयदेखि माग अनुसार बिदा नपाउने, आवश्यक परेको समयमा बिदा स्वीकृत नहुने तथा घर बिदा र भैपरी आउने बिदाको पर्याप्त उपयोग गर्न नपाइने विषयमा व्यापक असन्तुष्टि रहँदै आएको थियो ।
विशेषतः वर्षमा उपलब्ध ३० दिन घर बिदा तथा १२ दिन भैपरी आउने बिदा समेत पूर्णरूपमा उपभोग गर्न नपाइने अवस्थाले प्रहरी कर्मचारीको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा प्रत्यक्ष असर परेको गुनासो बारम्बार उठ्दै आएको थियो । यसै अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गतको नियम ८५ मा उल्लेखित “सट्टा बिदा” सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।
उक्त नियममा सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म सट्टा तलबी बिदा दिन सकिने व्यवस्था रहेको छ । कार्यालयका अनुसार लामो समयदेखि बिदा नलिएका वा बिदा जान नपाएका प्रहरी कर्मचारीलाई समेत अनिवार्य रूपमा बिदा बस्न परिपत्र गरिएको छ ।
तीन महिना वा सोभन्दा बढी समयसम्म बिदा नलिने प्रहरी कर्मचारीको विवरण संकलन गरी कारण सोध्दै बिदा उपयोग गर्न निर्देशनसमेत दिइएको छ । कार्यालयले यसलाई प्रहरी कर्मचारीको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।
यसअन्तर्गत प्रहरी चौकी लेगुवा, धनकुटा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी हवल्दार विशाल खड्का पहिलो पटक “सट्टा बिदा” उपयोग गर्ने प्रहरी कर्मचारी बनेका छन् । हालसम्म जिल्लाभरबाट आठ जना प्रहरी कर्मचारीले उक्त बिदा उपयोग गरिसकेको कार्यालयले जनाएको छ ।
सात दिन वा सोभन्दा कम अवधिको बिदा बस्न चाहने कर्मचारीले सट्टा बिदा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ । प्रहरी कर्मचारीहरूले जीवनमै पहिलो पटक कानूनी व्यवस्था अनुसार सट्टा बिदा उपयोग गर्न पाउँदा आफूहरूमा उत्साह, सन्तुष्टि र सकारात्मक मनोबल वृद्धि भएको प्रतिक्रिया दिएका छन् ।
यसअघि “सट्टा बिदा” प्रहरी नियमावलीमा उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै अर्हत सम्बुद्ध चन्दले उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष उजुरी दिएका थिए ।
सोही विषयमा नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत कानून शाखा, नक्साल काठमाडौंले चलानी नं. १५०८, मिति २०८१ वैशाख १० गतेको पत्रमार्फत सट्टा बिदा कार्यान्वयन गर्न निर्देशनसमेत दिएको थियो ।
तथापि व्यवहारिक कार्यान्वयन भने हालसम्म हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले सुरु गरेको यो अभ्यासले प्रहरी संगठनभित्र कर्मचारीमैत्री कार्यसंस्कृति विकास, मनोबल अभिवृद्धि तथा पेशागत उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया