काठमाडौँ, १५ वैशाख : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका काठमाडौंका दुई व्यावसायिक फर्मलाई ४ लाख १० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले सोमबार गरेको अनुगमन क्रममा ठमेलस्थित बेस्ट सपिङ सेन्टर प्रालि र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित कान्तिपुर क्याफेलाई जनही २ लाख ५ हजार रुपैयाँका दरले जरिबाना तिराएको हो ।
ती फर्मले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
अनुगमन क्रममा ठमेलमा रहेका हेभन ह्यान्डिक्राफ्ट र गुडलक ट्रेकिङ सपलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागले सोमबार काठमाडौंका ठमेल, विमानस्थल, मैतीदेवी लगायत क्षेत्रमा रहेका कुल ४७ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
अनुगमन गरिएका अन्य ४३ फर्मलाई भने सुधारका लागि सामान्य निर्देशन दिइएको छ । जसमा पश्मिना पसल, हस्तकला, ट्रेकिङ सामग्री पसल, होटल तथा रेस्टुरेन्ट छन् ।
प्रतिक्रिया