logo
  • ७ जेष्ठ २०८३, बिहीबार | Thu, 21 May 2026
  • Dark Mode

          Subscribe

    वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ

    वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ

    वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट स्थायी घर भई हाल काठमाडौँ–२६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन् । उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितहरूबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जेठ ५ गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो ।

    त्यसैगरी, साइप्रस पठाइदिने भन्दै एकजना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पाँचथर फिदिमका ४८ वर्षीय सूर्य प्रकाश खेजुम पक्राउ परेका छन् । उनलाई ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिइएको हो ।

    लिथुआनिया पठाइदिने भन्दै १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक भुम्लुकी ३३ वर्षीया शान्ति श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई जेठ ६ गते काठमाडौँको ज्ञानेश्वरबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    पक्राउ परेका सबैले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्काएर राखेको र रकम लिएपछि सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडितहरूको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    233



    sancharchautari sancharchautari    
  • ७ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP