logo
  • १४ जेष्ठ २०८३, बिहीबार | Thu, 28 May 2026
  • Dark Mode

          Subscribe

    सिंहदरबारभित्र अस्थायी टहरामा सञ्चालित चमेना गृहहरू हटाइँदै

    सिंहदरबारभित्र अस्थायी टहरामा सञ्चालित चमेना गृहहरू हटाइँदै

    काठमाडौं जेठ १४ जेठ: सिंहदरबार परिसरभित्रका अव्यवस्थित अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृहहरू हटाइँदैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले नै यसको पहल लिएको हो ।

    यस्तो निर्देशन प्राप्त भएपछि तत्कालीन शहरी विकास मन्त्रालय (हालको पूर्वाधार विकास मन्त्रालय) अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले चमेना गृह बन्द गर्न पत्राचार गरेको छ ।

    यस अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिसरमा रहेका अस्थायी टहरामा सञ्चालित चमेना गृहहरू हटाइँदैछ ।

    यी मन्त्रालय परिसरमा रहेका चमेना गृहहरूलाई यही जेठ २७ गतेभित्र बन्द गरिसक्न भनिएको छ ।संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार यी मन्त्रालय परिसरमा रहेका चमेना गृहहरू हटाउन विगतमा पनि पत्राचार भएको थियो ।

    सिंहदरबार परिसर व्यवस्थापन सम्बन्धमा नेपाल सरकारका तत्कालीन मुख्य सचिवज्यूको अध्यक्षतामा २०७५ साल भदौ ३१ बसेको बैठकको मन्त्रालय परिसरमा सञ्चालनमा रहेका चमेनागृह हटाउने निर्णय गरेको थियो । त्यसअनुसार त्यसबेला पत्राचार भएको थियो । तर त्यसबेला हटेको थिएन ।

    नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय परिसरमा रहेको चमेना गृह पनि हटाइँदैछ ।संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले दुवै दलको कार्यालयलाई पत्र लेखेर चमेना गृह बन्द गर्न भनेको छ ।

    नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यलयले यही जेठ १२ गते संसद् सचिवालयलाई पत्र लेखेको थियो ।

    सोही पत्रअनुसार संसद् सचिवाललयले दुवै दलको कार्यालयलाई यही जेठ १३ गते पत्र लेखेर संसदीय दलको कार्यालय परिसरमा रहेको चमेना गृह १५ दिनभित्र हटाउन पत्राचार गरेको हो ।



    sancharchautari sancharchautari    
  • १४ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP