logo
  • १८ फाल्गुन २०८२, सोमबार | Mon, 02 Mar 2026
  • Dark Mode

          Subscribe

    टोखा साहित्य दबूद्वारा लघुकथा तालिम तथा लेखन प्रतियोगिता सम्पन्न:

    टोखा साहित्य दबूद्वारा लघुकथा तालिम तथा लेखन प्रतियोगिता सम्पन्न:

    टोखा, २०८२ फाल्गुण १८

    — टोखा साहित्य दबूको आयोजनामा टोखा नगरपालिका वडा नं. ३ मा लघुकथा तालिम तथा लेखन प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कुल १२१ जनाको उपस्थिति रहेको थियो, जसमा १११ जना विद्यार्थीहरूको सक्रिय सहभागिता उल्लेखनीय रह्यो।

    लघुकथा तालिम कार्यक्रम
    तालिम कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष श्री रमेश डंगोलले प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमका प्रशिक्षकका रूपमा गोरखापत्रकी भाषा सम्पादक श्रीमती ममता मृदुल रहनुभएको थियो भने सह–प्रशिक्षकको भूमिका मौन सन्जयले निर्वाह गर्नुभयो। कार्यक्रमको सभापतित्व टोखाका पूर्व गाविस अध्यक्ष बाबुलाल डंगोलले गर्नुभएको थियो भने उद्घोषण आशामरू डंगोलले गर्नुभएको थियो। विभिन्न विद्यालयका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी भएका थिए।

    प्रशिक्षकहरूले लघुकथाको स्वरूप, संरचना, विषय चयन, कथावस्तुको विकास र सन्देश प्रवाहका विषयमा विस्तृत प्रशिक्षण दिनुका साथै विद्यार्थीहरूलाई सिर्जनात्मक लेखनमा सक्रिय रहन प्रेरित गर्नुभयो।

    वडा अध्यक्ष रमेश डंगोलले विद्यार्थी वर्गको हितका लागि आगामी दिनमा आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

    साहित्यकार श्री सिताराम कोइरालाले साहित्य सिकाइको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै नियमित अभ्यासमार्फत लेखन सीप विकास गर्न आग्रह गर्नुभयो। “साहित्यले व्यक्तिलाई आफ्ना विचार र अनुभूति अभिव्यक्त गर्न सक्षम बनाउँछ, त्यसैले बिस्तारै लेख्दै र सिक्दै जानु आवश्यक छ,” उहाँले बताउनुभयो।

    श्रीमती ममता मृदुलले ४० वर्षदेखिको आफ्नो अनुभव साझा गर्दै मेहनत, अनुशासन र ध्यानपूर्वक अध्ययनको महत्व औंल्याउनुभयो। “सबैजना पहिलो हुन सक्दैनन्, तर निरन्तर प्रयासले सफलता सम्भव हुन्छ,” उहाँले भन्नुभयो।

    लघुकथा लेखन प्रतियोगिता तथा पुरस्कार वितरण
    तालिमसँगै आयोजित लघुकथा लेखन प्रतियोगितामा विभिन्न विद्यालयका करिब सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रज्ञा स्कुलकी एक छात्राले प्रथम स्थान हासिल गर्न सफल भइन्। प्रथमदेखि दशौं स्थानसम्म उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

    पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमल भट्टराई रहनुभएको थियो। विशेष अतिथिका रूपमा श्री रमेश डंगोल उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा पत्रकार तथा लेखक हिक्मत डंगोल , श्री सिताराम कोइराला र श्रीमती ममता मृदुलको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व बाबुलाल डंगोलले गर्नुभएको थियो र उद्घोषण आशाभक्त दङोलले गर्नुभएको थियो।

    प्रमुख अतिथि श्री कमल भट्टराईले विद्यार्थीहरूको सिकाइ प्रक्रिया कहिल्यै नसकिने उल्लेख गर्दै साहित्यले समाज र राष्ट्र परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभयो। उहाँले लघुकथालाई ज्ञान, अनुभूति र सामाजिक उत्तरदायित्व व्यक्त गर्ने सशक्त माध्यमको रूपमा व्याख्या गर्दै निरन्तर अध्ययन र लेखनमा लागिरहन आग्रह गर्नुभयो।

    कार्यक्रममा वक्ताहरूले साहित्यले व्यक्तित्व विकास, सामाजिक चेतना र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

    टोखा क्षेत्रमा साहित्यिक गतिविधि विस्तार गर्दै विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र बौद्धिक विकास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।कार्यक्रमको अन्त्यमा उपस्थिती सबै अतिथीहरूलाई अध्यक्ष बाबुलाल डंगोलले मायाको चिन्ह स्वरूप उपहार प्रदान गर्नु भएको थियो।



    sancharchautari sancharchautari    
  • १८ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP