logo
  • २९ जेष्ठ २०८३, शुक्रबार | Fri, 12 Jun 2026
  • Dark Mode

          Subscribe

    १५ वर्षपछि हरिकृष्ण शाही हत्या प्रकरणका अभियुक्त पक्राउ, ६ जना कारागार चलान

    १५ वर्षपछि हरिकृष्ण शाही हत्या प्रकरणका अभियुक्त पक्राउ, ६ जना कारागार चलान

    २९ जेठ, काठमाडौं : मुगु जिल्लामा १५ वर्षअघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा नेपाल प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको छ। लामो समयसम्म रहस्यमै रहेको उक्त घटनामा संलग्न रहेको आरोपमा कुल ९ जना अभियुक्त पक्राउ परेका छन् भने उनीहरूमध्ये ६ जनालाई अदालतको आदेशपछि कारागार चलान गरिएको छ।

    वि.सं. २०६७ साल असार ४ गते मुगु सदरमुकाम गमगढी बजारमा बसोबास गर्ने पुनी शाहीका छोरा हरिकृष्ण शाहीलाई केही व्यक्तिले घरबाट बोलाएर लगेका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। करिब तीन–चार दिनपछि गमगढी बजारबाट करिब एकदेखि डेढ किलोमिटर टाढा ठीनी मेला जाने ग्रामीण सडकको बीचभागमा उनको शव फेला परेको थियो। शवको अवस्था हेर्दा उनलाई अत्यन्तै क्रूरतापूर्वक हत्या गरी फालिएको देखिएको थियो।

    घटनापछि वर्षौंसम्म पीडित परिवारले न्यायको प्रतीक्षा गर्नुपरेको थियो। स्थानीयस्तरमा घटना चर्चाको विषय बने पनि दोषीहरू कानुनी दायरामा आउन सकेका थिएनन्। मृतकको परिवारले न्यायका लागि निरन्तर आवाज उठाइरहे पनि लामो समयसम्म अनुसन्धान निष्कर्षमा पुग्न सकेको थिएन।

    तर पछिल्लो समय जिल्ला प्रहरी कार्यालय मुगुले पुरानो घटनाको अनुसन्धानलाई पुनः सक्रिय बनाएको थियो। अनुसन्धान अधिकारी नवीनकुमार शाहीको नेतृत्वमा भएको विस्तृत अनुसन्धान तथा प्रमाण सङ्कलनपछि घटनामा संलग्न रहेको आरोपमा ९ जना व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

    पक्राउ परेकामध्ये चन्द्रप्रकाश शाही, जसु बोहरा, पारसमणि मल्ल, काली खड्का (पूर्व प्रहरी), जयन्द्र शाही र अक्कल रावललाई अदालतको आदेशपछि कारागार चलान गरिएको स्रोतले जनाएको छ। अन्य पक्राउ परेका व्यक्तिहरूको कानुनी प्रक्रिया जारी रहेको बताइएको छ।

    यस घटनाको सफल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रविराज थपलिया र अनुसन्धान अधिकारी नवीनकुमार शाहीको भूमिका उल्लेखनीय रहेको भन्दै मृतकका परिवारजनले आभार व्यक्त गरेका छन्।

    मृतककी आमा पुनी शाहीले वर्षौंको पीडापछि दोषीहरू पक्राउ परेकाले न्यायप्रतिको विश्वास अझ बलियो बनेको बताइन्। उनले नेपाल प्रहरीप्रति धन्यवाद व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्यले पीडित परिवार मात्र नभई आम नागरिकमा समेत आशा र भरोसा जगाएको प्रतिक्रिया दिएकी छन्।

    स्थानीयवासीका अनुसार यो केवल एउटा हत्या प्रकरणको अनुसन्धान सफल भएको घटना मात्र नभई “ढिलो भए पनि न्याय मरेको छैन” भन्ने सन्देश दिने उदाहरण बनेको छ। १५ वर्ष पुरानो जघन्य घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै मुगुवासीले जिल्ला प्रहरी कार्यालय मुगुको कार्यको प्रशंसा गरेका छन्।



    sancharchautari sancharchautari    
  • २९ जेष्ठ २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP