logo
  • १३ फाल्गुन २०८२, बुधबार | Wed, 25 Feb 2026
  • Dark Mode

          Subscribe

    ‘Combination’ कला प्रदर्शनीको पाँचौं श्रृङ्खला सम्पन्न

    ‘Combination’ कला प्रदर्शनीको पाँचौं श्रृङ्खला सम्पन्न

    काठमाडौं — सन २००२ मा ‘Petals (फूलको पत्र)’ नामबाट स्थापना गरिएको तीन युवा महिला कलाकारहरूको समूहले ‘Combination’ शीर्षकअन्तर्गत आफ्नो पाँचौं संयुक्त कला प्रदर्शनी सम्पन्न गरेको छ। कलाकारहरू आर्या राजभण्डारी, चाँदनी बज्राचार्य र रेनुका महर्जन सम्मिलित उक्त प्रदर्शनी यही २०८२ फागुण १० देखि १२ गतेसम्म काठमाडौंस्थित नेपाल आर्ट काउन्सिल मा सञ्चालन भई मंगलबार समापन भएको हो।

    विभिन्न अन्तरालमा आयोजना हुँदै आएको ‘Combination’ शृङ्खलाको यस संस्करणमा चित्रकला र मूर्तिकलाको संयोजन प्रस्तुत गरिएको थियो। तीनै कलाकारले आ–आफ्ना फरक विषयवस्तुलाई समकालीन शैलीमा प्रस्तुत गरेका छन्।

    कलाकार आर्य राजभण्डारीले परम्परागत नेवार मन्दिर वास्तुकलाको महत्वपूर्ण अवयव ‘टुंडाल’लाई आफ्ना चित्रहरूको मूल प्रेरणा बनाएकी छन्। उनका अर्ध–अमूर्त शैलीका कृतिहरूमा टुंडाल केवल संरचनात्मक आधार नभई सांस्कृतिक प्रतीकका रूपमा पुनःव्याख्या गरिएको छ। विभिन्न रंग संयोजनमार्फत जीवनका विविध आयामलाई दृश्य–भाषामा उतारिएको छ। राजभण्डारीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय ललितकला विभागबाट एम.एफ.ए. उपाधि हासिल गरेकी छन्।

    त्यसैगरी, कलाकार चाँदनी बज्राचार्यले धार्मिक, सांस्कृतिक तथा सम्पदामूलक विषयलाई आधुनिक शैलीमा मूर्तिकलामार्फत प्रस्तुत गरेकी छन्। उनले रञ्जना, प्रचलित नेवा र भुजिमोल जस्ता परम्परागत नेवार लिपिहरू प्रयोग गर्दै अक्षरलाई नै मूर्तिमा रूपान्तरण गरेकी छन्। अक्षर, मन्त्र र देवी–देवताका रूपहरूलाई नीलपत्र जस्ता माध्यममार्फत संयोजन गरिएको उनको प्रस्तुति नेपालमा अक्षरलाई मूर्तिसँग समायोजन गर्ने प्रयासमध्ये सम्भवतः पहिलो मानिएको छ। बज्राचार्यले ललितकला क्याम्पस बाट बि.एफ.ए. अध्ययन पूरा गरेकी छन्।

    यस्तै, कलाकार रेणुका महर्जनले फूललाई जीवन र भावनाको प्रतीकका रूपमा चित्रण गरेकी छन्। उनका चित्रहरूमा न्यानो र चिसो रङहरूको सन्तुलित प्रयोगमार्फत जीवनका उतार–चढाव, मनोदशा र भावनात्मक अवस्थाहरू प्रस्तुत गरिएको छ। महर्जनले पनि ललितकला क्याम्पस बाट बि.एफ.ए. उपाधि हासिल गरेकी छन्।

    फरक–फरक विषयवस्तु भए तापनि तीनै कलाकारले सांस्कृतिक जरा र समकालीन अभिव्यक्तिबीच सन्तुलन कायम गर्दै दर्शकलाई नयाँ दृष्टिकोण प्रदान गर्न सफल भएको प्रदर्शनीमा अवलोकनकर्ताहरूको भनाइ रहेको थियो।



    sancharchautari sancharchautari    
  • १३ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP