उच्चस्तरीय भ्रमणमा आएको नेपालका लागि युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने भएको छ । यसअघि विदेशी कूटनीतिज्ञहरूलाई नभेटेका प्रधानमन्त्रीले शाहले ईयूको टोलीलाई भने भोलि सामूहिक रूपमा भेट्ने भएका छन् ।
नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वको प्रतिनिधिमण्डलले सदस्य राष्ट्रहरूका २२ जना राजदूत तथा उप–मिसन प्रमुखहरू सहभागी छन् । ‘शाह नेतृत्वको सरकारसँग भेटघाट गर्ने तथा ईयू र नेपालबीचको बलियो सम्बन्धलाई पुन: पुष्टि गर्ने अवसर हो’, ईयूद्वारा जारी विज्ञप्तिमा छ ।
यस प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन तथा स्विडेनका राजदूत तथा उप–राजदूतहरू सहभागी छन् ।
प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका साथै निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा युवा नेताहरूसँग पनि भेट गर्नेछन् ।
‘यो भ्रमणले नेपालप्रति ईयूको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ । हामी यहाँ नयाँ सरकारलाई बधाई दिन, नेपालको विकास प्राथमिकताप्रति हाम्रो समर्थन पुन: पुष्टि गर्न, तथा व्यापार, लगानी, जलवायु कार्य र बहुपक्षीय मुद्दाजस्ता क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू खोज्न आएका हौँ’, भ्रमण टोली प्रमुख लोरेन्जोले भनिन्, ‘टिम युरोपका रूपमा, हामी नेपालसँग मिलेर अझ समृद्ध, दिगो तथा समावेशी भविष्य निर्माण गर्न सहकार्य गर्न तयार छौँ ।’
प्रतिक्रिया